क्रियटिभ स्किल प्रालिका कार्यकारी निर्देशक राकेश साह विगत २ दशकदेखि शीपमूलक तालीम दिएर दक्ष जनशक्ति उत्पादन गर्ने अभियानमा सक्रिय छन् । नेपाल तालीम तथा रोजगार व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष रहेका उद्यमी साह नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका निवर्तमान अध्यक्ष र नेपाल स्वीस चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजका आजीवन सदस्य पनि हुन् ।
प्रस्तुत छ, दक्षताप्राप्त जनशक्ति र रोजगारीको अवस्थाबारे साहसँग गरिएको कुराकानीको सार :
दक्ष जनशक्ति उत्पादनको क्षेत्रमा लाग्ने सोच कसरी आयो ?
मैले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)बाट यसबारे बुझ्ने मौका पाएँ । अहिले पनि नेपाली युवाहरू वैदेशिक रोजगारीमा जाँदा निकै कठिन र जोखिमपूर्ण काम गरिरहेको अवस्था छ । दक्षता प्राप्त भयो भने यो जोखिम कम हुन्छ । नेपालका युवा बाहिर गएर जोखिमयुक्त काम गर्ने र त्यही बेला नेपालमा हरेक किसिमको शीपमूलक काममा भारतीयले काम गर्ने अवस्था थियो । यो देखेर मैले यहाँका युवालाई शीप सिकाउने र देशमै रोजगारीमा आबद्ध गर्ने उद्देश्यले तालीम प्रदायक संस्था ‘क्रियटिभ स्किल प्रालि’ स्थापना गरेको हुँ । त्यसयता युवाहरूलाई शीपमूलक तालीम दिने र स्वदेशमै रोजगारीमा लाग्ने प्रेरणा दिने काम गरिरहेको छु ।
लामो समयदेखि दक्ष जनशक्ति उत्पादन अभियानमा संलग्न हुनुहुन्छ । दक्षताप्राप्त जनशक्तिको अवस्था कस्तो पाउनुभएको छ ?
हामीले सन् २००४ देखि शीपमूलक तालीम दिन थालेका हौं । त्यसअघि वीरगञ्जमा प्लम्बर, डकर्मी, इत्यादिमा प्राय: भारतका विहार वा उडिसा राज्यका मानिसले काम गरेको देख्थ्यौं । अहिले ८० प्रतिशतभन्दा बढी मिस्त्री नेपाली छन् । त्यसमा पनि यो क्षेत्रमा मधेश प्रदेशकै जनशक्तिले काम गरिरहेको छ । हामीले तालीम सञ्चालन गर्नुअघि यहाँको बजारमा कपडा सिलाउने काममा प्राय:जसो भारतीय थिए । अहिले अधिकांश टेलर नेपाली महिलाले सञ्चालन गरेका छन् । वीरगञ्जमा ब्युटिसियन पनि सीमित संख्यामा थिए । अहिले नेपाली दिदीबहिनीले भारतको रक्सौलसम्मका ग्राहकलाई सेवा दिइरहेका छन् । २०७२ सालको भूकम्पछिको पुनर्निर्माणको समयमा हामीले पहाडी क्षेत्रमा पुगेर सिकर्मी र डकर्मी तालीम सञ्चालन गर्यौं । त्यही क्रममा १ हजारजति घर निर्माणमा सहयोग पुर्यायौं । विदेश जाने युवालाई पनि तालीम प्रदान गरेका छांै । कोभिडको बेलामा वैदेशिक रोजगार गुमाएर फर्र्किएका युवालाई तालीम प्रदान गरेका छौं । हामीले तालीम दिएकामध्ये ६० प्रतिशत जतिले स्वदेशमै रोजगारी गरिरहेका छन् ।
उद्योगहरूको आवश्यकताका आधारमा पनि तालीम दिन्छौं । यस्ता सबकन्ट्र्याक्टिङ तालीम उद्योगको आवश्यकताका आधारमा प्रदान गरिन्छ । तालीमप्राप्त जनशक्तिलाई उद्योगले कच्चापदार्थ उपलब्ध गराउँछ ।
कस्तो जनशक्तिलाई लक्षित गरेर तालीम दिइरहनुभएको छ ?
विशेषगरी विपन्न परिवार, महिला, वैदेशिक रोजगारीबाट फर्किएका र जान चाहने युवाहरू हाम्रा लक्षित समूहको रूपमा छन् । विभिन्न पेशा र उद्यमका लागि आवश्यक शीपमूलक तालीम दिन्छौं । यसमा जनशक्तिको आवश्यकताअनुसार स्किल, रिस्किल र अपस्किलका तालीम दिने गरेका छौं । हाम्रो संस्था प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सम्बन्धन प्राप्त र नेपाल भोकेशनल क्यालिफिकेशन सिस्टमबाट मान्यता प्राप्त संस्था हो । हामीले विभिन्न सरकारी र गैरसरकारी संस्थाका परियोजनामा परामर्शदाताको रूपमा पनि काम गरिरहेका छौं । हालसम्म क्रियटिभ स्किलले १५ हजार जनालाई शीपमूलक तालीम प्रदान गरेको छ । श्रम बजार र रोजगारदाताको आवश्यकताबीचको पुलको रूपमा हामीले काम गरेका छौं ।
क्रियटिभ स्किलबाट कस्ता खालका तालीम दिइन्छ ?
हामीले दिने तालीमहरू तालीम केन्द्र र घुम्ती तालीम पनि दिन्छौं । जहाँ बेरोजगार, तर रोजगारी चाहने इच्छुक युवाहरू छन्, त्यही ठाउँमा पुगेर घुम्ती तालीम सञ्चालन हुन्छ । यस्ता तालीमले साना उद्यमी अथवा साना व्यवसाय/उद्योगका दक्ष जनशक्ति उत्पादनमा सहयोग पुर्याउँछ । यसमा ब्युटिसियन, कपाल काट्ने, इलेक्ट्रिसियन, मोबाइल मर्मत, कपडा सिलाउने, फेशन डिजाइनलगायत तालीम हुन्छन् । केन्द्रमा आधारित तालीममा मुख्यत: साना तथा मझौला उद्योगका लागि चाहिने जनशक्तिका लागि तालीम प्रदान गर्छौं । यसमा उद्योगका बिजुली मिस्त्री, प्लम्बर, आल्मुनियम फेब्रिकेटर, एसी र फ्रिज टेक्निसियनजस्ता तालीम पर्दछन । कार्यस्थलमा आधारित तालीममा होटल वेटर, कुकजस्ता तालीम पर्दछन् । उद्योगहरूको आवश्यकताका आधारमा पनि तालीम दिन्छौं । यस्ता सबकन्ट्र्याक्टिङ तालीम उद्योगको आवश्यकताका आधारमा प्रदान गरिन्छ । तालीमप्राप्त जनशक्तिलाई उद्योगले कच्चापदार्थ उपलब्ध गराउँछ । तालीमप्राप्त व्यक्तिले आफ्नै घरमा उपकरण राखेर उत्पादन गर्दछ । उद्योगले पारिश्रमिक भुक्तानी गर्दछ । यसमा गार्मेन्ट, फेब्रिकेटर, बाँसको सामग्री बनाउने तालीम, गलैंचा बुनाइजस्ता तालीम पर्दछन् ।
तपाईंहरूले दिने तालीमका विशेषता के के हुन् ?
हामीले दिने तालीम सीटीईभीटीको पाठ्यक्रममा आधारित हुन्छन् । तालीमपछि शीप परीक्षण र प्रमाणपत्र दिने गरिएको छ । तालीम अवधिभित्र जीवन उपयोगी शीप, उद्यमशीलतासम्बन्धी तालीम, वित्तीय संस्थासँग सम्बन्ध विस्तार गर्ने काम र तालीमपछि रोजगारीका निम्ति सहकार्य गर्ने काम पनि गर्दै आएका छौं । तालीम लिइसकेका जनशक्तिको ६ महीनापछि रोजगारीको अवस्था बुझ्नुका साथै २ वर्षपछि तालीमको प्रभाव मूल्यांकन पनि गरिन्छ । साभार :आर्थिक अभियान